कप्तान पारस र राष्ट्रिय टोलिले दिएको त्यो मीठो सम्झना
कप्तान पारस र राष्ट्रिय टोलिले दिएको त्यो मीठो सम्झना
आजभन्दा करिब १०/११ वर्ष अगाडि, सन २०१० ताका आइ.सि.सि डिभिजन ५ को नेपाल विरुद्ध जर्सीको खेल आफ्नै स्कुल तत्कालीन विरेन्द्र सैनिक मा.वि, भक्तपुरमा हेर्ने अवसर प्राप्त भयो। त्यो दिनमा जस्तो मान्छे, अरु दिन कहिल्यै देखेको थिइन्। चौर पुरै खेल प्रेमीहरुको घुइँचोले भरिएको थियो। अझै याद छ पिच अगाडि, पछाडी र कक्षा भवन अगाडि पट्टी ठुला, अग्ला, काला पर्दाले ढाकिएको थियो। छेउमा रहनुभएका सिनियर दाइलाइ त्यो के हो भनेर सोध्दा साइड स्कृन भन्छ त्यसलाई भन्नुभयो। अनि हाम्रो क्लासको सिसाहरुमा बलले लाग्ला भनेर पर्दा राखिएको भन्नुभयो। बालखा दिमाग सोचेँ त्यहाँसम्म त के जाला र बल?
खेल शुरु भयो - सकियो कसले कति रन हाने, कसले कति विकेट लिए केहीपनि याद छैन। तर त्यस दिनको केही त्यस्ता कुराहरु मेरो बाल मस्तिष्कमा रह्यो जुन अझै झलझली याद आउँछन्। जर्सीका समर्थकहरुले उनीहरुलाई चियर गर्न फुकेर बजाउने बाजा, प्लास्टिकको बाजा बाडेको थिए। हामीले आफ्नै देशको उत्साह उजागर गर्न बजायौँ। कृकेट प्रती त्यस्तो चाख त्यो दिनभन्दा अगाडि खासै थिएन। नियमहरु पनि हलुकै थाहा थियो उडेर गए छक्का, ठोकिएर गए चौका, समाते आउट, तिनटा भाटाहरुमा लागेपनि आउट, र अमपायरका सामान्य इशाराहरु। कृकेट बुझ्ने दाइहरु रमाउनु हुँदा हामीपनि रमाउथ्यौ, ताली - बाजा बजाउथ्यौ।
आहा.. कस्तो राम्रो माहोल थियो त्यो, सल्लाघारी एउटै आवाजमा गुन्जीरहेथ्यो, " नेपाल...नेपाल "। जर्सीको समर्थनमा मानौँ कोहि थिएनन्। चुइक्क पनि आवाज थिएन, जब नेपाली खेलाडी आउट हुन्थे त्यतिबेला छाउने सुनसानलाई रमाएर अलि अलि चिर्न खोज्थे तर बडो गाह्रो थियो उनीहरुलाई। दोस्रो इनिङ्गमा जब अगाडिका केही बल्लेबाज आउट भएपछि कप्तान आए कप्तान भनेर मैदानमा हल्ला चल्यो तब एकाएक आवजको लहरहरु सुनिन थाले " पारस खड्का, छक्का पड्का "। बाकी नेपाली खेलाडीहरु भन्दा अलिक अग्ला कप्तानले चौरमा रहेका काला पर्दाहरुमा बल एकपछि अर्को गर्दै सहज तरिकाले हिर्काए। ओभर पिछे फेरिएका नयाँ बलरहरु सबैलाई धुलो चटाएको थिए। खेल विस्तरै नेपालको पोल्टोमा जाँदै थियो। हाम्रो उल्लासले भुइँमा खुट्टा थिएन।
खेल एकतर्फी थियो त्यो, नेपालले सहज जित निकालेको थियो। खेल सकिएपछि हामी बाहिरै रमाएका थियौँ। खेलाडीहरु राष्ट्रिय ध्वजा फहराउदै चौर परिक्रमा गरे, दर्शक सबैले तालिले सम्मान प्रकट गर्यौ र हामीलाई त्यसपछि खाजा खान पठाइयो। त्यस खेलको उत्कृष्ट खेलाडी को भए, पारस भए कि भएनन् ज्ञात छैन तर ७७ नम्बर जर्सी लगाएका नेपाल कृकेटका राष्ट्रिय टोलिको कप्तान पारसले सबैको मन जितेका थिए।
त्यो खेल सकिएपछि पनि 'पारस ७७' को म मा ठूलो प्रभाव परिरह्यो। महिनामा एकचोटि हुने आउटिङ्गमा घर जादा मैले बुबालाई पारस ७७ लेखेको नेपालको जर्सी किनिदिन ढिपी गरे। बुबाले धेरै पसलहरु चहार्नुभए पछि पनि पारस ७७ लेखेको मेरो साइजको जर्सी नपाउनुभएको कारण नेपाल लेखेको राष्ट्रिय कृकेटको जर्सी ल्याइदिनुभएको थियो। अझै याद छ त्यस बखत सबैभन्दा खुशी व्यक्ति म थिए। साझ - बिहान हरेक पल म त्यही जर्सी लगाएर हिड्थे। काठको भाटो काटकुट पारी बुबाले ब्याट बनाइदिनु भएको थियो। म छिमेकी साथीहरू बटुली खेल्न बोलाउथेँ, पारसले लामो छक्का हानेको त्यो खेल, त्यो क्षण सम्झिनथेँ र दोहोर्याउथेँ। पत्र-पत्रीका, म्यागजिन र नेटमा भएको पारसको फोटोहरु काटेर, पृन्ट गरेर मैले स्पोर्ट्स डायरी बनाएको पनि थिए। मैले आदर्श मान्ने व्यक्तिहरु मध्यको एक थिए (छन्) पारस खड्का।
त्यसपछि पारसको नेतृत्वमा नेपाली राष्ट्रिय कृकेट टोलिले डिभिजन ५, डिभजन ४, डिभिजन ३, डिभिजन २ हुँदै विश्वकप छनौट खेल्ने अवसर प्रदान भयो, दुर्भाग्यवश छनौट हुनबाट बन्चित भयौं। तरपनी राष्ट्रिय कृकेट टोलिले विश्वकप खेल्ने आशा ताजै रहदा पारसले आज अन्तरास्ट्रिय खेलबाट संयाश लिएका छन्। (पुर्व) कप्तान पारस नेपाली कृकेटको आशाको द्विप हुन्। खेल अलिक हम्मे हम्मे पर्दैगर्दा, पारस आउनै बाकी छ जितिन्छ भन्ने भरोसा हुन्। नेपाली कृकेटको मिरुदण्ड हुन्। उनले गरेको नेपाली कृकेटको योगदानको बारेमा आगामी पिडि सबैले जान्न, बुझ्न आवश्यक छ। घरेलु मैदानमै सिमित रहेको हाम्रो कृकेटलाई, अन्तर्राष्ट्रिय स्तरमा लैजान गरेको पारसको मिहेनतको सम्मान गर्नुपर्दछ। उदय पछि प्रलय हरेक कुराको निश्चित छ, तर उचित समयभन्दा अगाडि लिएको यस संयाशको निर्णय आज कयौंलाई पिरोलेको छ। हामी कमिको महसुस गर्नेछौं लेजेन्ड। ( तस्विर :- इन्टरनेट )